त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनको लागि योग्य बन्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १ २०७६
7.4K
SHARES

१असार काठमाडौं । त्रिभुवन विमानस्थलको रन-वे स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । अबको दुई हप्तासम्म मुख्य रन-वे क्षेत्रको काम सक्ने गरी धामाधम रन-वेको माथिल्लो भागमा कालोपत्रे गर्ने काम भइरहेको छ । बर्सातले प्रभावित नगरे जुन ३० सम्म रन-वेको स्तरोन्नतिको पूर्व कार्यतालिका बमोजिम काम सकिने नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।यही कामका लागि हाल विमानस्थल बेलुकी १० बजेदेखि विमान ८ बजेसम्म विमानस्थल बन्द गरिन्छ ।

स्तरोन्नतिको योजना अनुससार रन-वेको मध्य भागको २० मिटर चौडाई र पुरै ३ हजार ५० मिटर लामो रन-वेको २० सेन्टिमिटरको गहिरो पुरानो पत्र निकालेर नयाँ हालिएको छ ।हाल ३ हजार ५० मिटर लामो रन-वेको पुरै ६० मिटर चौडाभागमा थप साढे ६ सेन्टिमटरको कालोपत्रे थप्ने काम चलिरहेको श्रेष्ठले बताए । हरेक रात अवस्था हेरेर निश्चित मिटर रन-वेमा कालोपत्रेको काम गरिन्छ । विहान ६ बजेसम्म रन-वेमा पिच गर्ने काम चल्छ । बाँकी दुई घण्टा मा नै रन-वे फेरि उडानका लागि तयार भइसक्छ ।

चिनियाँ कम्पनीले यो काम निकै संवेदनशील भएर गरिरहेको छ । पानी पर्ने अनुमान भएको दिन यहाँ काम गरिँदैन ।सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फरिँदैछ ।झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे हुनेछ ।चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको स्तरोन्नति काम गर्दैछ ।

त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक-पटक उप्किन्छ । हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वषर्ायाम लागेपछि निकै बढ्छ ।चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भएको थियो । यसपटक निकै जोखिम मोलेर नै तल्लो सतहबाटै पिच फेरिँदैछ ।यो स्तरोन्नतिको काम पछि धाँजा फाट्ने समस्यालाई हट्ने दावी प्राधिरकणको छ । हाल रन-वेलाई भित्रैबाट खोतलेर आवश्यक नयाँ निर्माण सामग्री राखेर बलियो बनाइएको छ ।

यो रिह्याबको काम गरे विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुने दावी गरिएको छ । यो काम सुरु हुनुअघि विमानस्थल २१ घण्टासम्म सञ्चालन गरिएको थियो ।राति खोतलिएको धावनमार्ग छिटो तयार गर्न विशेष खालको अलकत्रा प्रयोग गरिँदैछ । छिट्टै पकड जमाउने खालको अलकता प्रयोग गरिने भएकाले समस्या नभएको प्राधिकरणको भनाइ छ ।

धावनमार्गको प्रमुख र चुनौतिपूर्ण काम सकेपछि बाँकी अरु आठ महिनाभित्र ट्याक्सी पार्किङलगायतका काम सक्ने योजना छ ।अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको छैन । विमानस्थलमा अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान-अवतरण हुन्छन् ।