सांसद शान्ता चौधरी ‘बी’ ग्रेडमा एसईई उत्तीर्ण
१३ असार काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी नेकपाकी संसदीय दलकी सचेतक शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण हुनु भएको छ ।उहाँ ‘बी’ ग्रेडमा उत्तीर्ण हुनु भएको हो । उहाँले २.६५ जीपीए ल्याउनु भएको छ । उहाँले गएको चैतमा भएको परीक्षा दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टर तुलसीपुरबाट दिनु भएको थियो । नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययन गरेकी चौधरीकाे (सिम्बोल नम्बर ०५८८४५३ भी हो । उहाँले सेण्टर मावि तुलसीपुर केन्द्रबाट परीक्षा दिनुभएको हो ।
उहाँकी छोरी विनु पनि एसईईमा उत्तीर्ण हुनु भएको छ । विनुले काठमाण्डौस्थित बसुन्धराबाट परीक्षा दिनु भएको थियो । २०७३ सालमा मावि डाँडागाउँमा कक्षा आठमा भर्ना भएपछि शान्ताको औपचारिक पढाइ सुरु भएको हो । २०६४ सालमा पहिलो संविधानसभामा उहाँ समानुपातिक सभाषद बन्नु भएको थियो । संसदीय समितिमा बस्दा पढाइ पनि आवश्यक हुने ठानेपछि उहाँले औपचारिक अध्ययनलाई निरन्तरता दिनु भएको हो । त्यसअघि उहाँ दाङमै कम्लरीमा भएर निकै संघर्षपूर्ण जीवन बिताउनु भएको थियो ।
थारु समुदायमा कम्लरी हुँदै पहिलो संविधानसभामा सभाषद भएपछि उहाँले ‘कम्लरीदेखि सभाषदसम्म’ आत्मकथा पनि सार्वजनिक गर्नु भएको थियो ।