युवाहरुलाई अध्यक्ष प्रचण्डको आह्वान ‘गणतन्त्र बिरोधीको प्रतिबाद गर्नुस्’
३ अशोज काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अराजक तत्त्वहरुले भ्रम सिर्जना गर्दै वर्तमान व्यवस्थालाई मास्ने षड्यन्त्र भइरहेकाले प्रतिवाद गर्न पार्टीका युवा तथा विद्यार्थीलाई आव्हान गरेका छन् ।सोमबार बिहान नेकपाको कार्यालय धुम्वाराहीमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केही त्यस्ता तत्त्वहरुले हत्केलाले सूर्यलाई छेक्ने जस्तो प्रयास गरिरहेका छन् । त्यस्ताप्रति सर्तक र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्नुस्, अध्यक्ष प्रचण्डले भने ।
उनले अराजकता मच्चाउनेहरुमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने सङ्कल्प गर्न आवश्यक भएको बताउँदै अराजकतावादीविरुद्ध सजग रही प्रतिकार गर्न आग्रह गरे । अध्यक्ष प्रचण्डले भने, “हत्केलाले सूर्य छेक्न खोज्न सम्भव छैन । त्यो दुस्साहस मात्र हुनेछ । जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आम जनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवाररूपमा लागौँ ।”
अध्यक्ष प्रचण्डले नेता बोगटीलाई आफूहरुले जहाँ जहाँ अप्ठ्यारो र कठिनाइ हुन्थ्यो, त्यहाँ त्यहाँ खटाउने गरिएको र उनले मूल नेतृत्व र नीतिलाई सधैँ सहयोग गर्नुभएको स्मरण गरे।पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने त्यागी र निष्ठावान नेता भएको र उनको त्यो व्यक्तित्वलाई स्मरण गरेर आफूलाई सही मार्गमा अगाडि बढाउनु आजको कार्यभार भएको बताए ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री बोगटी नुवाकोटका पूर्व सांसद् थिए । उनको २०७१ साल भदौ ३० गते निधन भएको थियो । कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमीक शेरचनलगायतले बेगटीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।