भारतमा जनता कर्फ्यू


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ९ २०७६
22.5K
SHARES

९ चैत्र काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशवासीसँग ‘जनता कर्फ्यू’ का दिन बिहान ७ बजेदेखि राती ९ बजेसम्म घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् । यतिबेला श्रीनगर र बेंगलुरुजस्ता शहरमा करफ्यू लागेको जस्तो स्थिती हुनेछ । प्रशासनले पनि यस्तै बयान दिएको छ । कश्मीरमा हिंस्रक घटनाको इतिहास भएकोले प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । यस्तै, बेंगलुरु पुलिसले अनावश्यक रुपमा घरबाट बाहिर निस्कनेलाई कारवाहीको चेतावनी दिएको छ । यद्यपी, दिल्ली पुलिसले कुनै प्रकारको कठोर कदम नलिइने र कुनै जरिवाना पनि नतोकिएको जानकारी दिएको छ ।

कश्मीरका इन्स्पेक्टर जनरल अफ पुलिस विजय कुमारले जनता कर्फ्यूको अपिल गरिएको बताउँदै कश्मीरमा मानिसहरुको ओहोरदोहोर र एक स्थानमा आवश्यकताभन्दा बढी व्यक्तिहरु जम्मा हुन प्रतिबन्ध लगाइने जानकारी दिए । यी प्रतिबन्धलाई कडा रुपमा लागू गर्न अतिरिक्त प्रहरी बल तैनाथ गरिने पनि उनले जानकारी दिए । कुमारले भने, ‘हामीले जनतालाई अपिल गरिरहेका छौं । यसलाई जनता कर्फ्यूको नाम दिइएता पनि कश्मीरको इतिहास यस्तो छ कि पुलिस र सुरक्षा बल तैनाथ नगरी हामी प्रतिबन्ध लागू गर्न सक्दैनौं ।’

बेंगलुरुका प्रहरी प्रमुख भास्कर रावले मानिसहरुलाई बिना काम वा अत्यावश्यक नभइकन घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । उनले भने, ‘बिना कारण घरबाट बाहिर निस्कनेलाई घातक रोगको संक्रमण फैलाउन लापरवाही गरेको र महामारीको आधारमा कारवाही गरिनेछ ।’दिल्ली पुलिसले आइतबार जनता कर्फ्यू लागू गर्नका लागि जरिवाना लगाउने कुनै आधिकारिक घोषणा नगरिएको जानकारी दिँदै यस्ता कुरालाई पूर्ण रुपमा अफवाह बताएका छन् ।

केन्द्रीय गृह सचिव अजय भल्लाले सबै राज्यका मुख्य सचिवसँग कुरा गरेका छन् । उनले सबै राज्यका वर्तमान ब्यूरोक्रेट्ससाग स्थानीय प्रशासनसँग कुरा गरेर आइतबार बेलुका ५ बजे साइरनको व्यवस्था गराउन आग्रह गरेका छन् । घरमै बसेर कोरोनासँग लड्न सहयोग गरेकोमा साइरन बजाएर जनतालाई धन्यवाद दिनका लागि यस्तो आग्रह गरिएको हो । मोदीले राष्ट्रको नाममा सम्बोधनमा यस्तो अपिल गरेका थिए ।शनिबार मध्यरातदेखि आइतबार राती १० बजेसम्म भारतको कुनै पनि स्टेशनबाट कुनै रेल चल्ने छैनन् । रेलवेले देशभरी २ हजार ४ सय यात्री र लामो दुरीका १३ सय एक्सप्रेस रेल नचलाउने निर्णय गरेको छ ।