समस्यामा परेकालाई सहयोग गर्छौ- मेयर शाक्य


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १ २०७७
4.8K
SHARES

०१ बैशाख काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नव वर्ष २०७७ को उपलक्ष्यमा सम्पूर्ण महानगरवासीमा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा एक शुभकामना दिँदै उनले विश्वभरी नै महामारीका रुपमा फैलिदैँ गइरहेको कोरोना भइरस बाट शीघ्र मुक्त हुन सकियोस् भन्ने कामना पनि गरेका छन् ।

उनले अहिले विश्वभरी नै कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न सबै जना आ–आफ्नै घरमा लकडाउनको अवस्थामा रहेको स्मरण गराउँदै नयाँ वर्षलाई घरभित्रै मनाउन पनि आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न अहिले काठमाडौँ महानगरपालिकाले हरेक दिन विभिन्न वडाहरुमा किट्नाशक औषधी छर्कने, बु्रमर प्रयोग गरी नियमित सरसफाई गर्ने, नियमित फोहोर उठाउने कार्यलाई तिव्रता दिदैँ आइरहेका पनि उल्लेख गरेका छन् ।
‘लकडाउनका कारणले हातमुख जाड्न समस्यामा परेका नगरवासीलाई वडा कार्यालयहरुबाट राहत सामग्री उपलब्ध गराइरहेका छौँ,’ उनले भनेका छन्।
नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति उनले संकेत गर्दै संकटको घडीमा गाउँ नफर्किन पनि आग्रह गरेका छन् ।
‘केही नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेका समाचारहरु सुनिनमा आएका छन् ।

यो संकटको घडीमा उहाँहरुलाई सहर छाडेर नगइदिनुहुन र यहाँ बस्दा कुनै पनि प्रकारको समस्या आएको भए आफू बसेको सम्वन्धित वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ,’ उनले भनेका छन्, ‘साथै महानगपालिकाले महानगवासीको लागि प्रयोगमा ल्याएको कोभिड–१९ संक्रमण बारे स्वमुल्याकंन गर्न सकिने नेपाल कोभिड–१९ सर्भिलेन्स डाउनलोड गरी प्रयोग गर्न हुन र विरामी अस्पताल लैजान समस्या भएमा महानगरपालिकाको सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवा १०२मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु । ’