हामीबीच सहमति भयो – नेम्वाङ
२० साउन काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद समधानोन्मुख भएको छ । मंगलबार नेम्वाङ र अलमुताइरीबीच आपसमा सहमति भएको हो ।
दुवैजनाले पुरानो कुरा भुलेर नेपाली फुटबलको विकासको लागि लागिपर्ने बताएका थिए । वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूहरु दुवैजना सहमतिमा आएको बताए ।
एउटा सामान्य कुराले नेपाली फुटबलमा तरलता आयो । हामी दुवैजना नेपाली फुटबलको विकास गर्न लागिपरेका हौँ । प्रशिक्षक र मैले सहमति जनायौँ, अब विवाद हुँदैन भन्ने भयो । दुवैजनाले पुरानो कुरालाई भुलेर अघि बढ्ने सहमति भयो,” नेम्वाङले बाह्रखरीसँग भने ।
नेम्वाङ र मुख्य प्रशिक्षक अलमुताइरीले संयुक्त विज्ञप्ति निकाल्दै आफूहरुबीच सहमति भएको जानकारी गराउने बताइएको छ । मंगलबार एन्फा सदस्य किरण राईलगायतले काठमाडौंको एक होटेलमा सहमतिका लागि छलफल गरेका थिए ।
यसअघि, विवाद सुल्झाउन नसक्दा एन्फाले खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रलयले राष्ट्रिय खेलकुद परिष्द (राखेप)लाई विवाद सुल्झाउन निर्देशन दिएको थियो । निर्देशनपछि राखेप कार्यकारी समितिको बैठकले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा मंगलबार सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।