कोरेयाको डेब्यू खेलमै दुई गोल, इन्टरको लगातार दोस्रो जित


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८
5.6K
SHARES

१२ भदौ काठमाडौं । जोक्विन कोरेयाले डेब्यू खेलमा दुई गोल गरेपछि इन्टर मिलानले गएराति इटालियन सिरी ‘ए’मा हेलास भेरोनालाई ३–१ ले हराएको छ । साविक विजेता इन्टरले बिहीबार मात्र कोरेयालाई सिरी ‘ए’ प्रतिद्वन्द्वी लाजियोबाट अनुबन्ध गरेको हो ।

चार वर्षका लागि सम्झैता गरेका कोरेयाले ८३औं मिनेट र इन्जुरी समयमा गोल गरेक थिए । कोरेया ७४औं मिनेटमा लाउटारो मार्टिनेजको स्थानमा मैदान छिरेका थिए । मार्टिनेजले ४७औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसअघि घरेलु टोली हेलास भेरोनाले १५औं मिनेटमा इभान इलिकको गोलबाट अग्रता लिएको थियो । तर, घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा हेलास भेरोना अंकबिहीन हुन बाध्य भयो ।

कोरेया र इन्टरका प्रशिक्षक सिमोनी इन्जाघीले यसअघि जालियोमा पनि सँगै विताएका थिए । इन्जाघी यसै सिजन इन्टरमा आएका हुन् । उनले एन्टोनियो कोन्टेको स्थान लिएका हुन् । कोरेराले तीन वर्ष लाजियोमा विताउँदा ११७ खेलमा ३० गोल गरेका थिए ।

२०१० पछि गत सिजन पहिलोपटक इटालियन सिरी ‘ए’ को उपाधि जित्न सफल इन्टरले जारी सिजनको पहिलो खेलमा जिनोवालाई ४–० ले हराएको थियो । इन्टर ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।