भारतविरुद्ध नेपाल
१७ भदौ काठमाडौं । नेपाल र भारत फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपाली फुटबलप्रेमीका लागि दुई टोलीबीचको खेल चासोको विषय हुन्छ ।
नेपाली राष्ट्रिय फुटबल टिमले लामो समयपछि भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । आज दशरथ रंगशालामा दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ५ः३० बजे सुरु हुनेछ ।
नेपालले सन् २०१५ पछि भारतविरुद्ध पहिलोपटक घरेलु मैदानमा खेल्न लागेको हो । भारतविरुद्ध नेपालको इतिहास राम्रो छैन ।
नेपाल र भारतबीच हालसम्मको नतिजा हेर्दा नेपाल धेरै कमजोर रहेको छ । नेपाल र भारतबीच सन् १९८५ मा पहिलो खेल भएको थियो । उक्त खेलमा नेपाल र भारतले बराबरी खेलेका थिए । दुई टोलीले साफ गेम्सअन्तर्गत प्रतिस्पर्धा गरेका थिए ।
नेपाल र भारतबीच हालसम्म १९ खेल भएका छन् । जसमा भारतले १३ खेलमा जित हासिल गरेको थियो भने नेपाल दुई खेलमा विजयी भएको थियो । दुई टोलीबीच चार खेल बराबरीमा सकिएका थिए । भारतले नेपालको पोस्टमा ३३ गोल गरेको छ भने नेपालले ९ गोल गरेको छ ।
नेपाल र भारतबीच सन् १९८५ मा दोस्रो खेल भएको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो । त्यसपछि सन् १९८७ र १९८९ मा भएको साफ गेम्सअन्तर्गतको खेलमा नेपाले हार व्यहोर्नुपरेको थियो ।
नेपालले सन् १९९३ को साफ च्याम्पियनसिपमा पनि १–० को नतिजा व्यहोर्नुपर्यो । नेपालले सन् १९९२ मा नै भएको साफ खेलमा २–२ गोलको नतिजा निकाल्यो ।
सोही समयमा भएको साफ खेलमा नेपालले भारतलाई पेनाल्टी सुट आउटमार्फत ४–२ ले हरायो । सन् १९९८ को एसियन गेम्समा पनि नेपाल भारतसँग १–० ले पराजित भयो ।
१९९९ मा भएको साफ गेम्समा भारतले नेपाललाई ४–० ले हरायो । त्यसपछि सन् २००५, २००८, २००९ मा भएको साफ च्याम्पियनसिपमा नेपालले भारतसँग हार व्यहोर्नुपरेको थियो ।
यता, सन् २०१२ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भने नेपालले भारतलाई बराबरीमा रोकेको थियो ।
सन् १९९३ मा भारतलाई हराएको नेपालले सन् २०१३ मा दोस्रोपटक हराउन सफल भयो । साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतलाई २–१ ले हरायो । नेपालका लागि अनिल गुरुङले ७०औँ मिनेटमा गोल गरे भने जुमानु राईले ८१औँ मिनेटमा गोल गरेका थिए । खेलको इन्ज्युरी समयमा भारतका लागि सायद रहिम नावीले गोल गरे पनि भारत नेपालसँग पराजित भएको थियो ।
नेपालले त्यसपछि भारतलाई हराउन सकेको छैन । साफ च्याम्पियनसिपमा जित निकालेकै वर्ष नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्यो, जुन खेलमा नेपाल २–० ले पराजित भयो ।
नेपालले भारतसँग सन् २०१५ मा विश्वकप छनोटअन्तर्गत दुई खेल खेलेको थियो । जसमा नेपालले एक खेल बराबरी खेलेको थियो भने एक खेलमा हारको नतिजा अत्मसात् गरेको थियो ।
अन्तिमपटक नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत सन् २०१७ मा खेलेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो ।