इङ्ल्यान्डको जितमा लिङ्गार्ड नायक


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
5.5K
SHARES

२१ भदौ काठमाडौं । जिसे लिङ्गार्डको उत्कृष्ट प्रदर्शनप्रेरित इङ्ल्यान्डले आइतबार राति फिफा विश्वकप २०२२ को छनोट प्रतियोगितामा एन्डोरामाथि ४–० को सहज विजय हासिल गरेको छ ।

इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले पछिल्लो समय हंगेरीविरुद्ध खेलेको टोलीमा ११ खेलाडी परिवर्तन गरेका थिए । लिड्स युनाइटेडका स्ट्राइकर प्याट्रिक बामफोर्डले डेब्यू गरे ।

युरोपेली छनोट प्रतियोगिताको समूह ‘आई’मा रहेको इङ्ल्यान्डको यो लगातार पाँचौं जित हो । लगातार पाँचौं जित दर्ता गर्नेक्रममा लिङ्गार्डले दुई गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिए ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड लिङ्गार्डले १८औं मिनेटमा गरेको गोलबाट इङ्ल्यान्डले अग्रता लियो । ७२औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको ६ मिनेट वित्न नपाउँदै लिङ्गार्डले व्यक्तिगत दोस्रो गोल थपे । खेल सकिन पाँच मिनेट बाँकी हुँदा बुकायो साकाले गरेको गोलमा लिङ्गार्डले अवसर सिर्जना गरिदिए ।

आर्सनलका साकाले वेम्बलीमै सम्पन्न इटालीविरुद्ध युरो–२०२० को फाइनलमा निर्णायक पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । उनले एन्डोराविरुद्ध गोल गर्दै आफ्नो २०औं जन्मदिन सुखद बनाए ।

समूहमा सतप्रतिशत नतिजा निकालेको इङ्ल्यान्ड १५ अंकका साथ शीर्ष स्थानमा छ । तीन अंक जोडेको एन्डोरा पाँचौं स्थानमा छ । ९ अंक जोडेको अल्बानिया दोस्रो स्थानमा छ । आजै हंगेरीमाथि १–० को विजय हासिल गरेको थियो । हंगेरीको जितमा अर्मान्डो ब्रोजाले ८७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । हंगेरी ७ अंकका साथ चौथो स्थानमा छ ।