एएफसी महिला एसियन कप फुटबलः नेपाल र फिलिपिन्स भिड्दै


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज २ २०७८
6.6K
SHARES

२ असेज काठमाडौ । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले आज बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह एफ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार आज दिउँसो ३ः४५ बजे सुरु हुनेछ । एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम जित निकाल्ने योजनासहित मैदानमा उत्रने छ । तर, फिफा वरीयतामा ३३औं स्थान माथिको फिलिपिन्सविरुद्ध नेपाललाई सहज भने हुनेछैन ।

महिला तर्फको फिफा वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ । फिलिपिन्स ६८औं स्थानमा रहेको छ । यसैबीच नेपाली टिमकी कप्तान रेनुका नगरकोटीले वरीयताले खेलमा असर नगर्ने बताएकी छिन ।

बलियो टिमलाई हराउन सक्ने नेपाली टिममा आत्मविश्वास रहेको रेनुकाको भनाइ छ । त्यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले यस छनोट टिमका लागि चुनौती र अवसर दुबै भएको बताए । उनले दुबै खेलमा टिमले उत्कृष्ट खेल्नेमा विश्वस्त रहेको बताए ।