नेपाली महिला क्रिकेट टिमले जित्यो टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २ २०७८
5.5K
SHARES

२ मंसिर काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।घरेलु टिम कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जित्दै नेपाली महिला टोलीले ऐतिहासिक सफलता हात परेको हो ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा गएराती सम्पन्न दोस्रो टी–ट्वान्टीमा ६१ रनको जित निकाल्दै नेपालले तीन खेलको सिरिज एक खेल अगाबै २–० ले जितेको हो ।सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको थियो ।

तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार तीन बल बाँकी छदै ६८ रनमा अलआउट भयो ।कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोडिन् । केरी पोनसेटले १५ रन जोडिन् ।

नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्रीले दुई विकेट हात पार्दा संगिता राई र सवनम राईले समान एक–एक विकेट लिए ।

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् ।

रुबिनाले ४८ बलमा ५० रन पूरा गरेकी हुन् । रुबिनाले ४ चौका र १ छक्का प्रहार गरिन् । रुबिनाको यो पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो ।

त्यस्तै, कविता कुँवरले ३१ रन जोड्दा ज्योति पाण्डेले ६ रन जोडिन्। सरिता मगर ४, काजल श्रेष्ठ ३ तथा डोली भट्ट सुन्य रनमा आउट भईन् ।अप्सरी बेगम २३ रनमा अविजित रहदा कविता जोशी सुन्य रनमा अविजित रहिन् ।

कतारकी एन्जेलिन मारेले २ विकेट लिईन् । एलिना खान, साची ढाटवाल र सबिजाले एक एक विकेट लिईन् ।आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको हो ।

विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।नेपाली महिला क्रिकेट टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छ ।