गणेशमान सिंह बक्सिङ मंगलबारदेखि


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९
2.5K
SHARES

५ वैशाख काठमाडौ । गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ । काठमाडौंको बसन्तपुर डबलीमा आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए । ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौं आइसकेका छन्’, उनले भने, ‘हामी सबै खेलाडी, प्रशिक्षक र अफिसियललाई स्वागत गर्न आतुर छौं ।’ प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४–५७, ६०, ६४–६९, ६९—७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष–चार महिला, मधेश प्रदेशबाट सात पुरुष–पाँच महिला, बागमती प्रदेशबाट सात पुरुष–तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष–तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष–चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष– चार महिला, विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष–पाँच महिला, एपीएफबाट सात पुरुष– पाँच महिला र नेपाल पुलिस क्लबाट चार पुरुष, दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।