नेपालले भारतलाई हरायो
२४ भदौ काठमाडौं । नेपाली युवा टोलीले शुक्रबार श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई ३-१ ले हराएको छ । यससँगै नेपालले समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।
कोलम्बोको रेस कोर्स मैदानमा भारतले २५ औँ मिनेटमा ड्यानी मेइटी लाईश्रमले गरेको गोलबाट भारतले अग्रता लिएको थियो ।
एक शून्यले पछि परेको स्थिति उल्टाउँदै नेपालले ३-१ को विजय हासिल गरेको हो । ४५ औँ मिनेटमा नेपालका सरोज दर्लामीले बराबरी गोल फर्काए । ४९ औँ मिनेटमा युनेशले गरेको गोलबाट नेपालले अग्रता लियो ।
६८ औँ मिनेटमा सुवास बमले अर्को गोल थपे पछि नेपालको जित पक्का भएको हो । जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने २ खेलमा ३ अंक जोडेको भारतले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ ।