लागुऔषध एलएसडी नेपाल भित्र्याउने र बिक्री वितरण गर्ने गिरोह पक्राउ
८ असार काठमाडौं । नेपालमा कमै नाम सुनिने गरिएको हार्ड ड्रक्स एलएसडी ठूलो परिमाणसहित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले स्टिकरमा लेपन गरेर नेपाल भित्र्याउनेदेखि ट्रान्स पार्टीहरुमा पुर्याउनेसम्मको गिरोहलाई पक्राउ गरेको हो । काठमाडौंको बुढानिलकण्ठ, मकवानपुरको चित्लाङ र ठमेलको एक क्लबमा ट्रान्स पार्टी आयोजना भएको सुइको पाएपछि प्रहरीले गिरोहको खोजी गरेको थियो । ब्युरोका अनुसार काठमाडौंको चन्द्रागिरीबाट असार ५ गते २९ वर्षीय सुगम मैनाली ७ वटा पिसको स्टिकरसहित पक्राउ परेका थिए ।
गौतमसँगै पक्राउ परेकी चेक गणतन्त्रकी ३२ वर्षीया मार्टिना सर्नाको साथबाट २६ थान स्टिकर र मेथामफेन्टामाइन ४ सय मिलिग्राम बरामद भएको थियो । उनीहरुकै माध्यमबाट एलएसडी नेपाल भित्र्याउने इटालीका डेभिड मिनाडियो पक्राउ परेका थिए । मिनाडियो बस्दै आएको ठमेलको होटल कोठाबाट १० हजार ९८ थान एलएसडी, ३८ ग्राम मेथामफेन्टामाइन, १ लाख ३९ हजार भारतीय रुपैयाँ, ७ सय युरो बरामद भएको थियो । उनी भारत हुँदै नेपाल भित्रिएको अनुसन्धानबाट खुलेको छ । ‘एलएसडी जिब्रोमा राखेपछि आफैं बिलाउँछ र घण्टौंसम्म झुम्म बनाउँछ । यति ठूलो परिमाणमा यो ड्रग्स यसअघि नेपालमा बरामद भएको थिएन’, जोशीले भने ।