कर्णाली विकास बैंकका अध्यक्ष राय पक्राउ
१८ जेठ काठमाडौं । मिलेमतोमा १ अर्ब २६ करोड रुपैयाँ अपचलन गरेको काण्ड छानबिनपछि फरार रहेका कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रायलाई पक्राउ गरेको हो ।कर्णाली विकास बैंकको अपचलनमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायलाई पक्राउ गरिएको सिआइबीका प्रमुख एआइजी चन्द्रकुवेर खापुङले नेपाल प्रेससँग पुष्टि गरेका छन् ।
सिआइबीले रायलाई काठमाडौंमा पक्राउ गरिएको बताएको छ । तर उनलाई भारतबाट पक्राउ गरेर ल्याइएको स्रोतले जनाएको छ ।नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको थियो ।
सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले कर्णाली विकास बैंकको अन्य बैकमा रहेको खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणालीमा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा करिब १ अर्ब २६ करोड अपचलन भएको पाइएको हो ।
बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाहकै संलग्नतामा रकम अपचलन भएको बैंकले गरेको आन्तरिक छानबिनले देखाएको थियो ।
सिआइबीले भने २५० करोड रकम हिनामिना गरेको आरोपमा अनुसन्धान गरिरहेकाे छ । पक्राउ परो रायमाथी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान गरिरहेको सिआइबीले जनाएको छ ।
कर्जा दुरूपयोग गरेको भन्दै रायलाई राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा ५ लाख जरिवाना समेत गरेको थियो ।हाल कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूहले सञ्चालन गरेर सुधारात्मक काम गरिररहेको छ ।