जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०८२
1.1K
SHARES

३ कात्तिक नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ । गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिसबाट जिल्लाको हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।मृतकहरू बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरूको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको र त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उनले बताए ।

“संक्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमुना काठमाडौं पठाउनुपर्छ,” उनले भने, “नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ ।”

जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म जम्मा १४ जना संक्रमित भएका जनाउँदै तिवारीले संक्रमितमध्ये नौ जना पूर्णरूपमा निको भएका, एक जना उपचाररत रहेका तथा चार जनाको मृत्यु भएको तिवारीले जानकारी दिए ।“जापानिज इन्सेफलाइटिस संक्रमित व्यक्तिलाई सिधै मस्तिष्कमा असर गर्ने भएकाले उनीहरूको अवस्था गम्भीर बन्न थाल्छ र उनीहरूको मृत्यु हुने सम्भावना बढी हुन्छ,” उनले भने ।

संक्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका– ६ जना, मध्यविन्दु नगरपालिकाका चार जना तथा हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक/एकजना रहेका उनले बताए ।

“जापानिज इन्सेफलाइटिसको संक्रमितमध्ये ९० प्रतिशतमा लक्षण देखिँदैन, लक्षण देखिएका बिरामीको स्वास्थ्यमा गम्भीर समस्या देखिन्छ,” उनले भने, “जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिको छिमेकीको नमुना संकलन गर्दा तीन जनामा संक्रमण पुष्टि भए पनि उनीहरूको अवस्था सामान्य छ ।”संक्रमित तीनै जना स्वास्थ्यकर्मीको निगरानीमा घरमै रहेका उनले जानकारी दिए ।

तिवारीका अनुसार, जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेका लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा संक्रमणको जोखिम बढी हुने गरेको छ । जापानिज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुन सक्छ ।

यो रोग संक्रमित हाँस, कुखुरा जस्ता चराचुरुंगी र सुंगुर–बंगुरजस्ता जनावरलाई टोकेका संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने उल्लेख गर्दै तिवारीले यो रोग मानिसबाट मानिसमा भने नसर्ने बताए ।यसैबीच, कावासोती नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत पारेश्वर भुर्तेलले जिल्लामा सबैभन्दा बढी कावासोतीमा यो रोग देखिएको भन्दै यसको न्यूनीकरणका लागि काम गरिरहेको बताए । उनले पालिकाभित्रका टोलसुधार समिति, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी एवम् नागरिक समाजको माध्यमबाट जापानिज इन्सेफलाइटिस रोग र यसबाट जोगिने उपायको बारेमा सचेतना फैलाइएको बताए ।

लामखुट्टेको टोकाइबाट जोगिन हाँस कुखुरा तथा सुङ्गुर–बङ्गुरको खोर समुदायबाट टाढा राख्नुपर्ने, झुलको प्रयोग गर्नुपर्ने, लामो बाहुला भएका लुगा लगाउनुपर्ने तथा पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने भुर्तेलको भनाइ छ ।प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा यस रोगबाट तीन जना संक्रमित भएका थिए । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १२ जना संक्रमित हुँदा चार जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ ।