फुटबलमा नयाँ प्रविधिको परीक्षण गर्दै फिफा
८ पुस काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गोल हुनुअघि बल खेल मैदानको रेखाबाहिर गएको थियो वा थिएन भनेर पत्ता लगाउन नयाँ प्रविधिको परीक्षण गरिरहेको छ ।‘आउट अफ बाउन्ड्स’ नामक यो नयाँ प्रविधि यसै महिना कतारमा सम्पन्न तीनवटा ‘इन्टरकन्टिनेन्टल कप’ खेलमा परीक्षण गरिएका प्रविधिहरूमध्ये एक हो ।
यसका साथै, फिफाले ‘रियल–टाइम थ्री–डी रिक्रिएसन’ प्रविधिलाई पनि विस्तार गरेको छ । जसले ‘अफसाइड’को समयमा खेलाडीको ‘लाइन–अफ–साइट’सम्बन्धी निर्णयहरू छिटो र स्पष्ट बनाउन मद्दत गर्ने फिफाको विश्वास छ । यसमा दुईवटा भर्चुअल फिडहरू उपलब्ध हुन्छन्, जुन भिडियो असिस्टेन्ट रेफ्री (भार) र टेलिभिजन दर्शकहरूका लागि उपलब्ध हुनेछन् । यी फिडहरूले दुवै टोलीका गोलकिपरहरूको दृष्टिकोणबाट दृश्यहरू देखाउनेछन् ।
यी नयाँ प्रविधिहरू फिफा र ‘हक–आई इनोभेसन्स’ले संयुक्त रूपमा विकसित गरेका हुन् । यी प्रविधिहरू भविष्यमा विभिन्न देशका घरेलु लिगहरूमा उपलब्ध हुनेछन् वा छैनन् भन्ने कुरा हेर्न बाँकी नै छ ।