विश्वकपका लागि नेपाली क्रिकेट टिमको ‘कन्डिसनल क्याम्प’ आजदेखि
८ पुस काठमाडौं । आईसीसी टी–२० विश्वकप–२०२६ का निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार, पुस ८) देखि बन्द प्रशिक्षण सुरु गरेको छ ।यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवर्ड लले विश्वकपका निम्ति पहिलो चरणको बन्द प्रशिक्षणमा २४ जना खेलाडी डाकेका थिए । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार पहिलो चरणको ‘कन्डिसनल क्याम्प’ मंगलबारदेखि सुरु भएको हो ।
नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपको समूह ‘सी’मा छ । यो समूहमा नेपालसँगै बंगलादेश, इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिज छन् । नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । यस्तै, फेब्रुअरी १२ मा इटालीसँग, फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग फेब्रुअरी १७ मा प्रतिस्पर्धा गर्ने तालिका छ ।
के हो ‘कन्डिसनल क्याम्प’
मंगलबारदेखि सुरु भएको ‘कन्डिसनल क्याम्प’मा खेलाडीको फिटनेस र अन्य क्षमताको मूल्यांकन हुने क्यानका प्रवक्ता लामाका बताउँछन् । त्यसपछि मात्रै विश्वकपका निम्ति क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुने उनले जनाए ।“यो क्याम्प सात–आठ दिनसम्म चल्नेछ । खेलाडीको सबै प्रशिक्षणपछि योग्य रहेका मात्रै विश्वकपका निम्ति हुने बन्द प्रशिक्षणमा छानिने छन् । बन्द प्रशिक्षण कहाँ गर्ने र कसरी गर्ने भन्नेबारे पनि क्यानले योजनाहरू बनाउँदै छ,” प्रवक्ता लामाले थपे ।