मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
2.6K
SHARES

११ पुस विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालय परिसर बाहिर छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा चारजना विद्यार्थी निलम्बनमा परेपछि क्याम्पसमा तनावको अवस्था सिर्जना भएको छ । निलम्बनको विरोधमा विद्यार्थीले शुक्रबार बिहानदेखि प्रदर्शन गर्दै कलेजको मुख्य गेटमा तालाबन्दी गरेका छन् ।विश्वविद्यालय प्रशासनले प्रारम्भिक छानबिनका क्रममा अनुशासन उल्लंघन भएको देखिएकाले निष्पक्ष अनुसन्धानलाई सहज बनाउन चार विद्यार्थीलाई अस्थायी रूपमा निलम्बन गरिएको जनाएको छ । छानबिन समितिको प्रतिवेदन आएपछि थप निर्णय गरिने प्रशासनको भनाइ छ ।

तर, विद्यार्थीले प्रशासनको निर्णय एकपक्षीय र हतारमा गरिएको आरोप लगाउँदै विरोध जनाएका छन् । उनीहरूले छानबिन प्रक्रिया पारदर्शी हुनुपर्ने, दोषी प्रमाणित नभएसम्म निलम्बन फिर्ता लिनुपर्ने तथा संवादमार्फत समस्या समाधान गर्नुपर्ने माग राखेका छन् । मुख्य गेटमा तालाबन्दी गरिँदा शैक्षिक गतिविधि प्रभावित भएको छ ।

यसैबीच, विश्वविद्यालय प्रशासनले क्याम्पसमा शान्ति–सुरक्षा र पठनपाठनको वातावरण कायम राख्न वार्ताको आह्वान गरेको छ । कानुन र संस्थागत आचारसंहिताअनुसार अघि बढ्ने स्पष्ट पार्दै आन्दोलनका कारण उत्पन्न परिस्थितिबारे सरोकारवाला निकायसँग समन्वय भइरहेको जनाएको छ ।स्थानीय तह र अभिभावकहरूले दुवै पक्षलाई संयम अपनाई संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन् ।