न्यु डायमन्ड फाइनलमा
१८ पुस काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार (पुस १८) न्यु डायमन्डले सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।न्यु डायमन्डले अब साबिक विजेता विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आजै मध्याह्न १२ः०० बजे सुरु हुनेछ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको सेमिफाइनलमा न्यु डायमन्डले पहिलो, दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१७, २५–२० र २५–७ को नतिजा निकालेको थियो । न्यु डायमन्डले यसअघि समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो । समूह चरणमा कुल तीन खेल खेल्दा न्यु डायमन्डले शतप्रतिशत जित निकालेको थियो ।