बूढानिलकण्ठ स्कुलले प्रदान गर्ने निःशुल्क छात्रवृत्ति परीक्षाको लागि दरखास्त आह्वान


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १ २०८२
1.2K
SHARES

१ चैत काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ स्कुलले कक्षा ५ देखि सञ्चालन गर्दै आएको छात्रवृत्ति परीक्षाको लागि दरखास्त आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानिलकण्ठ स्कुल तथा साँझेदारीमा सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्यनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरूबाट दरखास्त आह्वान गरिएको हो।

विद्यालयले आज जारी गरेको  सूचनामा इच्छुक बालबालिकाले यही चैत २७ गतेसम्ममा परीक्षाको लागि दरखास्त दिनसक्ने उल्लेख छ। सूचना अनुसार २०७२ साल वैशाख १ गतेदेखि ०७३ चैत ३१ गतेसम्म जन्मभई कम्तीमा कक्षा ३ र ४ मा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमित रुपमा अध्ययन गरी शैक्षिक सत्र २०८१ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्रछात्रमध्ये भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट हुने छन्।

परीक्षा चैत २८ गते शनिबार बिहान ११ बजेदेखि हुनेछ।  बुढानिलकण्ठ स्कुलको यो कार्यक्रम शीतलादेवी माध्यमिक विद्यालय धनकुटा, नवजीवन मावि जुटपानी, कुलेश्वर आवासीय मावि कुलेश्वर, बाल मन्दिर मावि लुम्ले, जनता मावि पाल्पा र वीरेन्द्र विद्यामन्दिर मावि टीकापुरमा सञ्चालित छ।

हेर्नुहोस् सूचना