एन्फालाई राखेपको २४ घण्टे पूर्जी


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १० २०८२
1.2K
SHARES

१० चैत काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग स्पष्टीकरण माग गरेको छ । आफ्नो निर्देशन अटेर गर्दै एम्फा निर्वाचनमा होमिएपछि राखेपले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।  राखेप, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले कारबाही गर्न नपर्ने कारणसहित लिखित जवाफ पेश गर्न निर्देशन दिएका छन् ।  ‘परिषद्को कार्यकारी समितिको मिति २०८२–१२–०९ को बैठकबाट ऐनको दफा २८ को (ङ) र दफा २९(१) बमोजिम भएको निर्देशन कार्यान्वयन नगरी प्रचलित कानुनविपरीत कार्य गरेको हुँदा ऐ.ऐनको दफा २९ को (२) बमोजिमको कारबाही किन हुनुनपर्ने हो ? सोका लागि ऐ.दफाको (७) बमोजिम पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सफाइ पेश गर्नका लागि पत्राचार गर्ने निर्णय भएको हुँदा सोहीबमोजिम उचित कारणसहित लिखित जवाफ पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ’,स्पष्टीकरण पत्रमा उल्लेख छ ।

एन्फाले साधारण सभाका लागि स्वीकृति दिन र प्रतिनिधि पठाइदिन आग्रह गर्दै गत पुस १७ गते राखेपलाई पत्र पठाएको थियो । राखेपले युवा तथा खेलकुद मन्त्रालयसँग यसबारे राय माग्यो । तर, मन्त्रालयले स्वीकृति नदिएकोमा एन्फाले छलफल र जानकारीबेगर निर्वाचनको मिति तय गरेर तालिका प्रकाशन गरेपछि विवाद निम्तिएको हो ।

राखेपले निर्वाचन र साधारण सभा रोक्न एन्फालाई पत्र लेखेको थियो । एन्फाले भने अन्तर्राष्ट्रिय संस्था फिफा र एएफसीसँगको परामर्शमा निर्वाचन तय गरेको उल्लेख गर्दै जवाफी पत्र पठाएपछि राखेपले चैत ५ गते स्वीकृतिबेगरको निर्वाचनले कानुनी मान्यता नपाउने चेतावनीसहित तीन दिनभित्र रोक्न निर्देशन दिएको थियो । चैत ८ गते एन्फाले पुनः अर्को पत्र पठाएर अन्तर्राष्ट्रिय संस्थाबाट अनुमति पाइसकेकाले निर्वाचन नरोक्ने जानकारी गराएको थियो । नियामक निकायको निर्देशन बेवास्ता गरिएपछि राखेपले आज स्पष्टीकरण मागेको हो ।