दुई तिहाइ सरकारको डरमा न्याय सम्भव छैन – सपना मल्ल


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २६ २०८३
1.7K
SHARES

१० वैशाख काठमाडौं । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर, दबाब र प्रभावमा निष्पक्ष न्याय सम्भव नहुने बताएकी छन्। कानुन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले न्यायपालिका संविधानको भावना अनुसार चल्नुपर्ने बताइन्।

उनले भनिन्, ‘सभामुखज्यूले एक ठाउँमा अभिव्यक्त गर्नुभएको थियो कि, न्यायपालिका पनि सरकारको स्पीड र स्पिरिटमा चल्न सक्छरु म भन्न चाहन्छु, संविधानको स्पिरिटमा न्यायपालिका चल्न सक्छ। सरकारको स्पिडमा चल्न सक्छ। संविधानको स्पिरिट, सरकारको स्पिड, तब न्यायपालिका चल्न सक्छ, जब न्यायपालिकालाई स्रोत साधनले सम्पन्न बनाउनुहुन्छ।’उनले न्यायाधीशहरूलाई डर र प्रभावबाट मुक्त भएर काम गर्न आग्रह गरिन्।

उनले थपिन्, ‘डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाइ सरकारको डर नै किन नहोस्, चाहे महाअभियोगको डर नै किन नहोस्। अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आह्वान गर्दछु।’

उनले आफूले जीवनभर विभेद र अन्यायविरुद्ध सङ्घर्ष गरेको उल्लेख गर्दै न्याय र समानताको लडाइँ अझै बाँकी रहेको बताइन्।उनले भनिन्, ‘म आफैँ जीवनभर विभेद र अन्यायको लडाइँ लडेँ। कानुन व्यवसायी हुँदादेखि नै यो सङ्घर्ष जारी छ। संविधानवाद, विधिको शासन, नागरिक अधिकार तथा न्यायपालिकाको स्वतन्त्रता र मर्यादा जोगाउन सबै पक्षलाई एकजुट हुनुपर्छ।’

उनले आम नागरिक, नेपाल बार एशोसिएशन, सञ्चारमाध्यम, नागरिक समाज तथा सरोकारवाला निकायलाई न्यायपालिकाको स्वतन्त्रता संरक्षणमा सहयोग गर्न आग्रह गरिन्।