सरकारले शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र रोजगारमुखी बनाइने
२८ बैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने बताएका छन् । सोमबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले शिक्षालाई समता र समृद्धिको आधारका रूपमा स्थापित गरिने बताएका छन् । उनले पुस्तक, दिवा खाजा र पोसाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय र जीवनउपयोगी तथा रोजगारमुखी बनाइने बताए ।
त्यस्तै, सबै तर्फको पाठ्यक्रमको समयसापेक्ष पुनरवलोकन गरिने, सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी र गुणस्तर केन्द्रित बनाउन स्वस्थ्य नियमन गरिने, इ लर्निङ भर्चुअल कक्षा , खुल्ला डिजिटल सामग्री, महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाइने गरिने बताएका हुन् ।
साथै, विपन्न, सीमान्तकृत, दलित, आदिवासी जनजाति र अपांगता भएका बालबालिकाहरूका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गरिने बताएका छन् । अटिजम र न्युरो डाइभर्सिटी भएका बालबालिकाका लागि थेरापी सेवा, असिस्टिभ टेक्नोलोजी र विशेष तालिम प्राप्त शिक्षकहरूको व्यवस्थासहित समावेशी विद्यालय प्रणाली विकास गरिने बताए ।