लालटिन बाल्न बारमा भेला हुँदै कानुन व्यवसायी
५ जेष्ठ काठमाडौं । सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा कानुन व्यवसायीहरूले विरोध गरेका छन् । दिउँसै लालटिन बालेर विरोध जनाउन कानुन व्यवसायीहरू नेपाल बार एसोसिएसन परिसरमा भेला हुँदै छन् ।
बारले मंगलबार १:१५ बजे बार प्रांगणमा लालटिन बाल्ने भने पनि केही ढिलाइ हुने भएको छ । न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भन्दै बारले विरोध जनाउन थालेको हो । बार महासचिव केदार कोइरालाले कानुन व्यवसायी बार परिसरमा भेला भइरहेको जानकारी दिए । लालटिन बाल्नुअघि न्यायको खोजीका लागि संक्षिप्त सम्बोधन हुनेछ ।
बारले दरपीठ उपरको निवेदन बिनाकारण दर्ता नगरी राख्ने विषय प्रशासनको अधिकारबाहिर न्याय मार्गमा अवरोध पुर्याउने कार्य रहेको ठहर गरेको छ । बारले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधानन्यायाधीशको आदेशसमेत पालन नगर्ने प्रशासनको रवैयालाई ‘असाधारण र अप्राकृतिक’ भनेको छ । प्रशासनको उक्त विषय इतिहासमा अभिलेखीकरण हुने ऐतिहासिक भूल रहेको ठहर बारको छ ।