बाँके, बर्दियाका नदीमा बाढी : सतर्क रहन आग्रह
१६ असार काठमाडौं । वर्षासँगै देशका केही साना नदीमा मंगलबार (असार १६) पानीको बहाव उल्लेख्य बढेको छ । बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीहरूमा बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस दिन बिहान ११ः३० बजे सूचना जारी गर्दै विभागले ती नदी आसपास र होचो स्थानका बासिन्दालाई दिनभरि सतर्कता अपनाउन आग्रह गरेको छ ।
“बाँके, बर्दिया र कैलाली भएर बहने स–साना नदीहरूमा बाढी बढिरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दा दिनभर सतर्क रहनुहोला,” विभागले भनेको छ । आज र भोलि (असार १६–१७) मनसुनी गतिविधि बढ्ने विभागको पूर्वानुमान छ । आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।