सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार सदस्य मनोनीत


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १८ २०८३
1K
SHARES

१८ असार काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक काउन्सिलमा चार जना विज्ञलाई सदस्य मनोनीत गरेको छ।  मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्य मनोनीत गरेको हो।

एकेडेमिक काउन्सिल सीटीईभीटीको शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो। यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली, प्राविधिक एवं व्यावसायिक शिक्षाका लागि नीतिगत दिशा निर्देश गर्छ।

काउन्सिलमा मनोनीत भएका सदस्यमध्ये डा. शर्मा सूचना प्रविधि, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता तथा नीतिगत विज्ञ हुन्। उनले  सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रोजगारी योग्यता विषयमा विद्यावारिधि गरेकी छन्।  उद्योग परिसंघका अध्यक्ष पाण्डे निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रका स्थापित उद्यमी हुन्। इन्जिनियरिङ पृष्ठभूमिका उनले तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसाय, पूर्वाधार विकास तथा निजी क्षेत्रको नेतृत्व गर्दै आएका छन्। कर्खानाका सह–संस्थापक डा. श्रेष्ठले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट स्टेम शिक्षामा विद्यावारिधि गरेका छन्।

नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर गरेकी छन्। उनले नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा समाज विषयमा फेलोसिप पूरा गरेकी छन्। हाल नेपाल रेडक्रस सोसाइटीमा क्लिनिकल कोअर्डिनेटरका रूपमा कार्यरत उनले यसअघि सेभ द चिल्ड्रेन, नर्भिक इन्टरनेशनल अस्पतालमा नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेकी छन्।