अर्जेन्टिना अन्तिम १६ मा


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २० २०८३
1.1K
SHARES

२० असार काठमाडौं। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा केप भर्डलाई ३–२ गोलले हराउँदै अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयसम्म १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

खेलको ९२ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसको केही बेरमै अर्थात् १०३ औं मिनेटमा सिड्नी लोपेज काब्रालले शानदार गोल गर्दै केप भर्डलाई २–२ को बराबरी ल्याए।

१११ औं मिनेटमा केप भर्डका डिनेको आत्मघाती गोलमा अर्जेन्टिनाले अग्रता लियो। लियोनल मेसीले प्रहार गरेको कर्नरमा क्रिस्टियन रोमेरोले हेडिङ प्रहार गर्दा डिनेलाई लागेर गोल हुन पुग्यो।

त्यसअघि २९ औं मिनेटमा लियोनल मेसीको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। ५९ औं मिनेटमा डेराए डुआर्टेले गोल गर्दै केप भर्डलाई बराबरीमा ल्याए।

पहिलोपटक विश्वकपमा सहभागिता जनाएको केप भर्डले विश्व विजेतालाई आच्छुआच्छु पार्यो। अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टको सामना गर्नेछ। पहिलोपटक विश्वकपमा सहभागिता जनाएको केप भर्ड अन्तिम ३२ बाट बाहिरिन पुग्यो।