विद्यालय शिक्षा विधेयक छिट्टै ल्याउँछौँ – शिक्षामन्त्री
३२ असार काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले दिर्घकालीन समस्या समाधान हुनेगरि विद्यालय शिक्षा विधेयक छिटै ल्याइने जानकारी दिएका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले अबको ५० वर्षसम्मका शिक्षा क्षेत्रका सम्भावित चुनौतीहरूलाई सम्बोधन गर्नेगरि विद्यालय शिक्षा विधेयक ल्याइने जानकारी दिए ।
उनले वर्तमान समयमा प्रविधिको विकास र एआईको बढ्दो प्रयोग जस्ता विषयहरूलाई समेट्ने गरी विधेयक आउने बताए । उनले नेपालभरिको सम्पूर्ण विद्यालय पाठ्यक्रमलाई पूर्ण रूपमा पुनर्संरचना गर्नका लागि एउटा कार्यदल गठन गरी काम अगाडि बढाइसकिएको जानकारी दिए । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको तालिमसम्बन्धी कार्यक्रमहरूलाई पनि अगाडि बढाइएको उनको भनाइ छ ।
मन्त्री पोखरेलले विद्यालयहरूको वास्तविक आवश्यकता पहिचान गरी सोही आधारमा मात्र बजेट विनियोजन गर्ने कार्यक्रमहरू अगाडि सारिएको उल्लेख गरे । चितवनमा रहेका विश्वविद्यालय, क्याम्पस र स्कुलको स्थलगत निरीक्षणका लागि मन्त्री पोखरेल चितवन पुगेका हुन् ।