एकपटकको लिडर, सधैँको लिडर – क्यान
२६ श्रावण काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तानी जिम्मेवारीबाट बिदा गरिएका रोहित पौडेललाई योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ। क्यानले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत रोहितलाई उनको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि स्मरणीय रहने उल्लेख गरेको हो। क्यानले रोहितले नेपाली क्रिकेटको विकास, टोलीको प्रदर्शन सुधार र समर्थकका अपेक्षा पूरा गर्न योगदा गरेको भन्दै तारिफ गरेको छ।
‘धन्यवाद छ रोहित! राष्ट्रको आशालाई अगाडि बढाउने र जोश, समर्पण र दृढ संकल्पका साथ नेपाली क्रिकेटको नेतृत्व गरेकामा’, क्यानले लेखेको छ, ‘हाम्रो पुरुष राष्ट्रिय टोलीको कप्तानका रूपमा तपाईंको नेतृत्वमा हामीले उत्कृष्ट उपलब्धि हासिल गर्यौँ र त्यस्ता पल आए, जुन नेपाल क्रिकेट यात्राको गौरवशाली हिस्साका रूपमा रहनेछन्।’
टोली, देश र खेलकुदप्रति रोहितको प्रतिबद्धता सधैँ प्रेरणादायी रहने क्यानले उल्लेख गरेको छ। अगाडि लेखेको छ, ‘हामीलाई विश्वास छ- तपाईंले आफ्नो यात्राभरि देखाउनुभएका जोश, गर्व र समर्पणका साथ नेपालको सेवा गरिरहनुहुनेछ। एक पटकको नेता, सधैँको नेता।’

यसअघि सोमबार क्यानले रोहितको ठाउँमा लेगस्पिनर सन्दीप लामिछानेलाई नेपाली एकदिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ।अब सन्दीपको नेतृत्वमा नेपालले यही अगस्ट ३० देखि मलेसियामा हुने एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ।नेदरल्यान्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग-२ मा नेपाली टोलीको कमजोर प्रदर्शनपछि क्यानले नेतृत्व परिवर्तन गरेको हो।
मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि क्यानले सोमबार नै नयाँ सन्दीपको नेतृत्वमा टोली घोषणा गरेको छ। लामिछाने चार वर्षपछि नेपाली टोलीको नेतृत्वमा फर्किएका हुन्। नाबालिग बलात्कारको आरोप लागेपछि २०७९ सालमा उनलाई कप्तानबाट हटाइएको थियो।
त्यतिबेला उनलाई राष्ट्रिय टोलीबाट पनि निलम्बन गरिएको थियो। पछि अदालतबाट सफाइ पाएपछि राष्ट्रिय टोलीमा फर्किएका थिए। अहिले क्यानले कप्तानको जिम्मेवारीमा फर्काएको हो।एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन्। एसीसी प्रिमियर कप आउँदो भदौ १४ देखि २७ गतेसम्म मलेसियामा हुनेछ।
