१२ घण्टामा दार्चुला, बर्दिया र दाङमा ‘धेरै भारी’ वर्षा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०८३
532
SHARES

३१ श्रावण काठमाडौं । देशका धेरै स्थानमा शनिबार (साउन ३०) वर्षा भएको छ । ‘धेरै भारी’सम्म वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आइतबार (साउन ३१) बिहान ८ः५० बजेको मापनमा पछिल्लो १२ घण्टाको अवधिमा दार्चुला, बर्दिया र दाङमा धेरै भारी पानी परेको छ । “दार्चुला, बर्दिया र दाङ जिल्लाका जम्मा तीनवटा मौसम मापन केन्द्रमा धेरै भारी पानी परेको छ,” विभागले भनेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरू (लमजुङ, प्युठान, दाङ, बाँके, कैलाली, कञ्चनपुर, जाजरकोट, दैलेख, कालीकोट र डोटी)मा ‘भारी’ वर्षा भएको विभागले जनाएको छ ।“आज पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । सतर्क रहौँ,” विभागले भनेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । “हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ,” विभागले भनेको छ ।

r1-1786850993.jpg
पछिल्लो १२ घण्टामा भएको वर्षाको विवरण ।