श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक – राष्ट्रपति


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०८३
1.2K
SHARES

१९ भदौ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।

विश्वभर सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान गर्नेले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

विशेषगरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइन्छ ।

स्वार्थरहित कर्म, सत्य, न्याय र धर्ममा अडिग रहने, शुद्ध मन र त्यागपूर्ण व्यवहार गर्ने तथा कर्तव्यप्रति सधैँ प्रतिबद्ध रहने श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको राष्ट्रपति पौडेलले बताएका छन् ।

यसैबीच, राष्ट्रपति पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताएका छन् ।

राष्ट्रपति पौडेलले गौरा पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख, शान्तिका लागि सहयोग पुर्याएको उल्लेख गरेका छन् ।