रसुवा बाढी : पाँच हजारभन्दा बढी अझै सम्पर्कविहीन
२४ भाद्र काठमाडौं । रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति एक हजार ३६७ पुगेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार (भदौ २४) बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट हालसम्म एक हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो ।
प्राधिकरणका अनुसार, सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् । काठमाडौंमा उपचारका क्रममा रहेका दुईजनाको पनि मृत्यु भएको उल्लेख छ ।
हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ ।
बाढी तथा विपद्का कारण करिब पाँच हजार १३२ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ । रसुवाबाट मात्रै दुई हजार ८६० जना सम्पर्कविहीन छन् । त्यसमध्ये रसुवाका एक हजार ३९३, अन्य जिल्लाका एक हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी रहेका छन् ।
नुवाकोटबाट एक हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यसमध्ये नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका एक हजार १३६ जना छन् ।
यस्तै, करिब ५८७ जना विदेशी पर्यटक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यमा सुरक्षा निकायका २१ हजार १८५ जना परिचालन भएका छन् ।
नेपाल प्रहरीका सात हजार ९७५, नेपाली सेनाका नौ हजार सातजना र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन् ।
विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा तीन हजार ६२८ जना राखिएका छन् । तीमध्ये रसुवामा ७३३, नुवाकोटमा दुई हजार ६९९ र धादिङमा १९६ जना रहेका छन् ।
विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएको छ । उपचारपछि २५२ जना डिस्चार्ज भइसकेका छन् ।
यसैगरी, नेपाली सेनाले ३ हजार ५३५ जना तथा सशस्त्र प्रहरी बलले ३ हजार २८७ जनालाई उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ ।