त्रिभुवन र कान्ति राजमार्ग दुईतर्फी सञ्चालन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २ २०८३
209
SHARES

२ असोज हेटौंडा । हेटौंडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा आजदेखि नियमित रूपमा दुईतर्फी रूपमा सञ्चालनमा आएका छन् ।जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको जानकारी दिए ।

त्रिभुवन राजपथले हेटौंडालाई पालुङ-नौबिसे हुँदै काठमाडौंसँग जोड्छ भने कान्ति राजमार्गले हेटौंडालाई टीकाभैरव-ललितपुर हुँदै काठमाडौं उपत्यकासँग जोड्छ । कृष्णभिरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन गत १६ भदौदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्नेगरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो ।

कृष्णभिर खण्डमा सडक सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाउँदै शुक्रबारदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा यातायात सञ्चालन खुला गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताए ।