त्रिपुरेश्वर आगलागी प्रकरण : बस चालकको मृत्यु
६ असोज काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसभित्रै आत्मदाह प्रयास गरेका चालकको उपचारकै क्रममा मृत्यु भएको छ । सोमबार बेलुका नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
तर चालकको पूरा विवरण अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर थापाका अनुसार चालकको नाम नै पहिचान हुन सकेको छैन ।
“हिजो बेलुका नै उपचारका क्रममा मृत्यु भएको हो,” थापाले भने, “तर अहिलेसम्म न कोही आफन्त सम्पर्कमा आएका छन् । न त चालकको पहिचान हुन सकेको छ ।”
यसअघि उनको साथमा दावा लामा नामका कागजात फेला परेको आधारमा प्रहरीले सोही जानकारी गराएको भए पनि उनी दावा हुन् कि होइनन् भन्ने पुष्टि हुन नसकेको उनले बताए ।
“आफन्त कोही सम्पर्कमा आएका छैनन्,” थापाले भने, “नाम नै पहिचान हुन सकेन । आफन्त कोही आएका छैनन् । म नजिकको दाइ हुँ भन्दै हिजो एकजना सम्पर्कमा आएका थिए तर पछि उनी पनि सम्पर्कमा आएका छैनन् ।”
काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुनुअघि उक्त बसका चालक र ट्राफिक प्रहरीबीच विवाद भएको पाइएको छ । रिद्धिसिद्धी यातायातको बा५ख ४२७६ नम्बरको बसका चालक २५ वर्षीय दावा लामा भएको प्रहरीले जानकारी गराएको थियो ।
ट्राफिक प्रहरीबीच जरिबानालाई लिएर विवाद भएको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको छ । त्रिपुरेश्वरस्थित चोकमा चालक लामा र ट्राफिक प्रहरीबीच विवाद भएको देखिन्छ ।
यसको केही समयपछि चालक लामाले गाडी त्रिपुरेश्वर चोकबाट केही अगाडि राहदानी विभागको भवननजिकको बस स्टपमा रोकेका थिए । त्यही रोकिरहेको बसमा सोमबार मध्याह्न सवा १२ बजेतिर आगलागी भएको थियो । आगलागीमा परी चालक गम्भीर घाइते भएका थिए ।
उपचारका लागि उनलाई कीर्तिपुर वर्न अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भए पनि अहिलेसम्म सनाखत हुन नसकेको प्रहरी बताउँछ ।
कीर्तिपुर अस्पतालकी डाइरेक्टर निजिना ताम्राकारका अनुसार गएराति करिब सात बजेतिर उनको मृत्यु भएको हो । आगलागीबाट उनको शरीरको ९७ प्रतिशतभन्दा बढी भाग जलेको थियो ।