दशौँ राष्ट्रिय खेलकुद उत्सव सुरु भइसक्यो – मन्त्री पोखरेल


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १८ २०८३
152
SHARES

१८ असोज सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै पनि अवस्थामा नरोकिने बताएका छन् । प्रतियोगिता आउँदो मंसिर १६ देखि २७ गतेसम्म हुने तय छ । यसको उत्सव भने आजैदेखि सुरु भएको उनले बताए ।कर्णाली प्रदेशमा आयोजना गरिने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८३ मूल आयोजक समितिको बैठकमा आइतबार (असोज १८) उनले यसको मिति पटक–पटक सरेकाले अझै हुने हो कि होइन भन्ने आशंका रहेको उल्लेख गरे । तर, अब त्यस्तो दुविधा राख्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे ।

“प्रतियोगिता मंसिर १६ गतेबाट सुरु हुने हो । तर, आज मूल समारोह समितिको बैठक गरिसकेपछि दशौँ राष्ट्रिय खेलकुद आजकै दिनबाट सुरु भएको छ,” उनले भने, “प्रतियोगिता १६ गतेबाट सुरु हुने हो, उत्सव भने आजबाटै सुरु भयो ।”प्रतियोगिता नहुने आशंका अब अन्त्य गरिनुपर्नेमा उनले जोड दिए ।

मन्त्री पोखरेलले प्रतियोगितालाई विगतभन्दा प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए । आयोजक र सहआयोजकको विषय प्राविधिक व्यवस्थापनको पक्ष मात्र भएको भन्दै उनले प्रतियोगिता सबै तहका सरकारको साझा कार्यक्रम भएको उल्लेख गरे ।

“नेपालभरिका गाउँगाउँ र कुनाकाप्चामा रहेका खेलाडीले आफ्नो प्रतिभा देखाउन पाउनुपर्छ । राष्ट्रियस्तरको प्रतियोगितामा आएर खेल्न पाउनु नै सबैभन्दा ठूलो कुरा हो,” उनले भने, “खेलकुदबाटै आफ्नो जीवन चलाउन सक्ने वातावरण निर्माण गर्नु अझ महत्त्वपूर्ण कुरा हो ।”

दशौँ राष्ट्रिय खेलकुदलाई खेलाडीको प्रतिस्पर्धामा मात्र सीमित नराखी राष्ट्रिय उत्सवका रूपमा विकास गर्नुपर्ने भन्दै उनले कर्णालीमा प्रतियोगिता हुँदै छ भन्ने सन्देश देशभर पुर्‍याउन आग्रह गरे ।दशौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहआयोजक कर्णाली प्रदेश खेलकुद विकास परिषद् छन् ।

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले राष्ट्रिय खेलकुद आयोजनाका निम्ति प्रदेश सरकारको पूर्ण समर्थन रहेको बताए । आवश्यक खेल पूर्वाधारमा थप लगानी गर्न संघीय सरकारसँग उनले आग्रह गरे ।कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले प्रतियोगितालाई प्रदेशका निम्ति अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।

बैठकमा नेपाल प्रहरीका एआईजी राजन अधिकारीले सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखिएको र प्रतियोगितासँग सम्बन्धित १६ कार्यादेश (टीओआर) तयार गरिएको जानकारी दिए ।वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिका पूरा गर्न पालिका तयार रहेको बताइन् ।