भारतको सहयोगमा मोरङमा विद्यालय भवन निर्माण
२१ आश्विन काठमाडौँ । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकामा रहेको पञ्चायत माध्यमिक विद्यालयको भवन भारत सरकारले निर्माण गरिएको छ ।सो भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारतीय दूतावासका अनुसार विद्यालयको विद्यालय भवन निर्माण कार्य उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भारत सरकारद्वारा निर्मित नयाँ पूर्वाधारले मोरङको सुन्दरहरैँचा नगरपालिकाका विद्यार्थी तथा शिक्षकहरूको सिकाइ वातावरण सुदृढ हुने विश्वास लिएको बताएका थिए ।उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता विभिन्न क्षेत्रहरूमा भारत सरकारद्वारा नेपालका सात वटै प्रदेश र ७४ वटा जिल्लाहरू समेट्ने गरी ६०५ वटा परियोजनाहरू सञ्चालन गरिएका छन् । यसमध्ये कोशी प्रदेशमा १०३ वटा योजना परिचालनमा छन् । त्यसमध्ये मोरङमा मात्र १७ वटा परियोजना सञ्चालनमा रहेको दूतावासले जनाएको छ ।
भारतले कोशी प्रदेशमा १५० वटा एम्बुलेन्स र ६२ वटा स्कुल बस प्रदान गरेका छन् त्यसमध्ये मोरङ जिल्लामा मात्र २१ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस प्रदान गरेको छन् ।उच्च प्रभाव सामुदायिक विकास परियोजनाले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई प्रवर्द्धन गर्ने भारत सरकारको लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।