तीन वर्षपछि व्यावसायिक खेलमा फर्किए डेविड सिल्भा


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २२ २०८३
247
SHARES

२२ आश्विन काठमाडौं । स्पेन तथा म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर डेविड सिल्भा तीन वर्षपछि व्यावसायिक खेल जीवनमा फर्किएका छन् ।हङकङ प्रिमियर लिग क्लब सुप्रिम साटिनले बुधबार सिल्भालाई अनुबन्ध गरेको घोषणा गरेको हो ।‘‘सुप्रिम साटिनमा आबद्ध हुन पाउँदा खुसी लागेको छ । हङकङ गएर त्यहाँको संस्कृति र खानाको आनन्द तथा हङकङ फुटबलको अनुभव लिन उत्साहित छु,’’ सिल्भाले भनेका छन् ।

सन् २००८ देखि २०१२ सम्मको स्पेनिस गोल्डेन जेनेरेसन टिमका महत्त्वपूर्ण सदस्य सिल्भाले सन् २०२३ मा व्यावसायिक खेल जीवनबाट सन्न्यास लिएका थिए ।

सिल्भालाई प्रिमियर लिगकै सबैभन्दा सफल मिडफिल्डरमध्ये एक मानिन्छ । सन् २०१० मा म्यानचेस्टर सिटी प्रवेश गरेका उनले इतिहादमा १० सिजन बिताए । सिटीमा उनले ११ प्रमुख उपाधि जिते । सिल्भाले स्पेनका लागि १२५ खेल खेलेका छन् । सुप्रिम साटिन हङकङ प्रिमियर लिगको आठौँ स्थानमा छ । लिगमा ११ टोली सहभागी छन् ।