राजनीति अलि खलबलिएको छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०८३
1.1K
SHARES

२३ कार्तिक काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रँदा राजनीति समेत खलबलिएको टिप्पणी गरेका छन् । सोमबार (कात्तिक २३) भक्तपुरमा एमाले जिल्ला कमिटीले चाडपर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंसको प्रवृत्ति बढेको बताए ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुभन्दा नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले आफू नेतृत्वको तत्कालीन सरकारले विभिन्न स्थानमा ठूला सभा हल, रंगशाला तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जिकिर गरे ।

ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माण गरिएको उनले उल्लेख गरे । उनले त्यहाँ हजारौँ मानिस अट्ने व्यवस्था रहेको बताए । भक्तपुरमा समेत ठूला सार्वजनिक तथा सामुदायिक सभा हलको आवश्यकता रहेको उनको भनाइ थियो ।

सामान्य कार्यक्रम आयोजना गर्नुपर्दा पार्टी प्यालेसमा निर्भर हुनुपर्ने अवस्था रहेको उनले बताए । उनले सार्वजनिक सभा हल निर्माणमा ध्यान दिनुपर्ने औँल्याए ।

भूकम्पबाट क्षति पुगेका संरचनालाई अझ बलियो र व्यवस्थित रूपमा पुनर्निर्माण गर्ने प्रयास गरिएको उनले सुनाए । दशरथ रंगशालाको पुनर्निर्माण, पोखरा रंगशालालगायत विभिन्न स्थानमा खेल पूर्वाधार निर्माणलाई उनले विकासको उदाहरण भएको बताए ।

विकास भएका संरचना भत्काउने, झुट बोल्ने र राष्ट्रिय सम्पत्तिमा आगजनी तथा लुटपाट गर्ने प्रवृत्ति बढेको भन्दै ओलीले चिन्ता व्यक्त गरे । यस्ता गतिविधिको जड समाजमा सांस्कृतिक भावना कमजोर हुनु रहेको उनको तर्क छ ।

कार्यक्रममा केपी ओलीको भनाइ पढ्नोस्–
आज राजनीति र समाजमा देखिएको विकृतिको एउटा कारण हाम्रो सांस्कृतिक र नैतिक चेतनामा आएको ह्रास पनि हो । मानिसको मनमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंस र स्वार्थको भावना बढ्दै गएको देखिन्छ । हामीले सभा हल, रंगशाला र अन्य पूर्वाधार निर्माण गरेर देश विकास गर्न सक्छौँ भन्ने उदाहरण प्रस्तुत गरेका थियौँ । भूकम्पले संरचना भत्काउँदा पनि त्यसलाई अझ बलियो र व्यवस्थित बनाउने प्रयास गरेका थियौँ । तर, सार्वजनिक सम्पत्ति संरक्षण गर्नुको सट्टा तोडफोड, आगजनी र लुटपाट गर्ने प्रवृत्तिले समाजलाई ठूलो क्षति पुर्‍याउँछ । भाटभटेनीलगायत व्यावसायिक प्रतिष्ठानमा भएका लुटपाट र आगजनीका घटनाले सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षाबारे गम्भीर प्रश्न उठाएका छन् । यस्तो व्यवहारले देशको प्रतिष्ठामा समेत असर पार्छ । त्यसैले अब हामीले विनाश होइन, निर्माण, घृणा होइन, करुणा, झुट होइन, सत्य र हिंसा होइन, सहकार्यको संस्कार विकास गर्नुपर्छ । संस्कृतिको संरक्षण भनेको केवल चाडपर्व मनाउनु मात्र होइन, हाम्रो व्यवहारमा नैतिकता, सद्भाव र जिम्मेवारी कायम गर्नु पनि हो ।