भीमफेदी दुर्घटनाबारे छानबिन गर्न समिति गठन
२७ कार्तिक काठमाडौं । मकवानपुरको भीमफेदीमा बिहीबार भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।विभिन्न माग राख्दै मृतकका आफन्तले शव बुझ्न मानिरहेका छैनन् । उनीहरूले हेटौंडा अस्पतालमा धर्ना दिइरहँदा सरकारले विज्ञप्तिमार्फत् धारणा सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको जानकारी दिएको हो ।दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्न समिति गठन गरिएको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेहरूको उपचार खर्च र मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा जनाइएको छ।
बिहीबार बिहान भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा काठमाडौं-सर्लाही रुटमा सञ्चालन भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारी साधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए।
छठ पर्व मनाउन घर जाने क्रममा दुर्घटनामा परी ज्यान गुमाउने यात्रुमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एकजना चालक कविलासी नगरपालिकाका बासिन्दा छन् ।
सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको र स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ । घाइतेमध्ये तीनजना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीनजनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।