नारायणकाजी श्रेष्ठ चीन प्रस्थान


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर ३ २०८३
1.3K
SHARES

२ मंसिर काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन मंगलबार साँझ चीन प्रस्थान गरेका छन्।विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, क्षेत्रीय आर्थिक सहकार्य र पूर्वाधार विकाससँग सम्बन्धित तीन कार्यक्रमलाई सम्बोधन गर्न निमन्त्रणा आएपछि उनी चीन गएका हुन्।

चीन भ्रमणका क्रममा श्रेष्ठले आन्हुई प्रान्तको राजधानी हेफेई, ग्वाङ्झाउ र राजधानी बेइजिङमा आयोजना हुने तीनवटा अन्तर्राष्ट्रिय कार्यक्रममा मुख्य वक्ताका रूपमा नेपालको दृष्टिकोण प्रस्तुत गर्नेछन्।

तीनवटै कार्यक्रमको विषयवस्तु फरक भए पनि तिनले समेट्ने विश्व राजनीतिक सम्बन्ध, क्षेत्रीय साझेदारी, अन्तर्राष्ट्रिय व्यापार र पूर्वाधार सम्पर्क सञ्जालका विषय आपसमा अन्तरसम्बन्धित छन्। भ्रमणको पहिलो कार्यक्रम हेफेईमा आयोजना हुने ‘चीनलाई नियाल्दै, विश्वलाई बुझ्दै अन्तर्राष्ट्रिय मञ्च–२०२६’ हो। उक्त कार्यक्रममा श्रेष्ठलाई मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएको हो।

चीनको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइक्सिङ र चिनियाँ कम्युनिस्ट पार्टीको आन्हुई प्रान्तीय समितिका सचिव ली लेचेङलगायत उच्चस्तरीय राजनीतिक नेतृत्वको सहभागिता रहने यस मञ्चमा विभिन्न देशका पूर्वसरकार प्रमुख तथा वरिष्ठ राजनीतिक व्यक्तित्वहरू पनि सहभागी हुनेछन्।

कार्यक्रममा टोंगाका पूर्वप्रधानमन्त्री डा. आइसेके भालु एके, रोमानियाका पूर्वउपप्रधानमन्त्री एड्रियन सेभेरिन, मंगोलियाका पूर्वउपप्रधानमन्त्री डेन्डेभिन तेर्बिशदाग्वा र स्पेनको संसद्की पूर्वउपाध्यक्ष मारिया एलिजोलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।

चीनको उच्च राजनीतिक नेतृत्व तथा विभिन्न देशका पूर्वसरकार प्रमुख र वरिष्ठ राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहने यस मञ्चमा मुख्य वक्ताका रूपमा श्रेष्ठको उपस्थिति नेपालको अन्तर्राष्ट्रिय राजनीतिक संवादमा महत्वपूर्ण सहभागिता हुनेछ।

हेफेईको कार्यक्रमपछि श्रेष्ठ ग्वाङ्झाउ पुग्नेछन्। त्यहाँ आयोजना हुने ‘२१औँ शताब्दीको सामुद्रिक रेशमी मार्गसम्बन्धी ११औँ अन्तर्राष्ट्रिय थिंक ट्यांक मञ्च–२०२६’ मा पनि उनी मुख्य वक्ताका रूपमा सहभागी हुनेछन्। सामुद्रिक रेशमी मार्ग, क्षेत्रीय आर्थिक एकीकरण, अन्तरदेशीय व्यापार, पूर्वाधार विकास, अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाल र विश्वव्यापी आर्थिक साझेदारी यस मञ्चका प्रमुख सरोकारका विषय हुन्। विभिन्न देशका नीति निर्माता, कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा रणनीतिक मामिलाका जानकारहरूको सहभागिता रहने यस मञ्चमा श्रेष्ठले नेपालको भौगोलिक अवस्थिति, क्षेत्रीय सहकार्यको आवश्यकता र अन्तर्राष्ट्रिय आर्थिक सम्पर्क विस्तारको महत्त्वबारे आफ्नो धारणा राख्ने अवसर पाउनेछन्।

विशेषगरी नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि अन्तर्राष्ट्रिय व्यापारिक मार्ग, पारवहन पहुँच, सडक तथा रेल सञ्जाल र क्षेत्रीय आर्थिक साझेदारीको विषय प्रत्यक्ष राष्ट्रिय सरोकारसँग जोडिन्छ। सामुद्रिक तथा स्थलमार्गमार्फत क्षेत्रीय अर्थतन्त्रलाई जोड्ने विषयमा हुने अन्तर्राष्ट्रिय बहस नेपालको व्यापारिक सम्भावना र विकास प्राथमिकताका दृष्टिले पनि महत्वपूर्ण छ। श्रेष्ठको भ्रमणको तेस्रो कार्यक्रम चीनको राजधानी बेइजिङमा आयोजना हुनेछ।

त्यहाँ उनी ‘बेल्ट एन्ड रोड सहकार्यको रूपरेखाभित्र पूर्वाधार सम्पर्क सञ्जालसम्बन्धी विषयगत अन्तर्राष्ट्रिय गोष्ठी’ मा मुख्य वक्ताका रूपमा सहभागी हुनेछन्। बेइजिङमा हुने यस गोष्ठीमा बेल्ट एन्ड रोड सहकार्यअन्तर्गत पूर्वाधार विकास, अन्तरदेशीय यातायात सञ्जाल, सडक तथा रेलमार्ग विस्तार, व्यापारिक पारवहन, क्षेत्रीय सम्पर्क र आर्थिक सहकार्यका विषयमा छलफल हुनेछ।

नेपालका लागि पूर्वाधार कनेक्टिभिटी केवल विकास निर्माणको विषय नभई भौगोलिक अवस्थितिलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने रणनीतिक आधारसमेत हो। यसैले बेल्ट एन्ड रोडको रूपरेखाभित्र पूर्वाधार सम्पर्क विस्तारबारे हुने छलफल नेपालको राष्ट्रिय विकास प्राथमिकतासँग प्रत्यक्ष सम्बन्धित छ।

श्रेष्ठको चीन भ्रमणका तीनवटै कार्यक्रमलाई एकैसाथ हेर्दा यसको विषयगत दायरा अझ स्पष्ट हुन्छ। हेफेईमा विश्व राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धको व्यापक बहस हुनेछ भने ग्वाङ्झाउमा क्षेत्रीय आर्थिक सहकार्य तथा सामुद्रिक रेशमी मार्गको विषय उठ्नेछ। त्यसपछि बेइजिङमा पूर्वाधार विकास र अन्तरदेशीय सम्पर्क सञ्जाललाई केन्द्रमा राखेर छलफल हुनेछ। यसरी विश्व राजनीतिक संवाददेखि क्षेत्रीय आर्थिक साझेदारी र विकास पूर्वाधारसम्मका विषयमा नेपालले आफ्नो दृष्टिकोण राख्ने अवसर प्राप्त गर्नेछ।

तीनवटै कार्यक्रममा श्रेष्ठलाई मुख्य वक्ताका रूपमा निमन्त्रणा गरिएको उनको सचिवालयले जनाएको छ।