मौलिक भेषभूषा र बाजागाजासहित आदिवासीको र्‍याली


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २४ २०८३
627
SHARES

२४ श्रावण काठमाडौं । विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा र्‍यालीको आयोजना गरिएको छ । काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्यसहितको र्‍याली निकालिएको हो ।

भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताललगायत क्षेत्र हुँदै खुलामञ्चमा पुगेर र्‍याली मूल समारोहमा परिणत भएको हो । नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी तथा प्रस्तुति देखाइएको थियो ।

समारोहमा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट हजारौँ आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूहको सहभागिता छ । कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग, नागरिक समाज, मानवअधिकारकर्मी, कलाकार तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको छ।

विश्व आदिवासी दिवसले आदिवासी समुदायको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतसँगको सम्बन्ध तथा अधिकारका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उठाउने अवसर प्रदान गर्ने महासंघले जनाएको छ। संविधानमा सुनिश्चित गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन, समानुपातिक समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार र सांस्कृतिक सम्पदाको संरक्षण अझै महत्वपूर्ण विषय रहेको महासंघको भनाइ छ।

विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।