लागूऔषधविरुद्ध सर्लाहीको हरिवनमा युवा दौड


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २७ २०८३
2.1K
SHARES

२७ साउन काठमाडौ । आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा  बिहान भव्य युवा दौड प्रतियोगिता आयोजना गरिएको छ। ‘लागूऔषधविरुद्ध हाम्रो दौड’ भन्ने मुख्य नाराका साथ आयोजित उक्त दौड प्रतियोगिता नयाँरोडबाट सुरु भई हरिवन पुगेर समापन भएको थियो। प्रतियोगितामा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। दौडमा उत्कृष्ट प्रदर्शन गर्दै अशोककुमार साह प्रथम हुन सफल भएका छन्। त्यसैगरी, विक्रम यादवले दोस्रो र आकाश मुखियाले तेस्रो स्थान हासिल गरेका छन्। विजयी खेलाडीहरूलाई प्रमाणपत्रसहित क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै सर्लाही युथ फोरमकी अध्यक्ष आरती लामाले पछिल्लो समय बढ्दै गएको लागूऔषधको कुलतविरुद्ध युवाहरूमा जनचेतना जगाउने मुख्य उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताइन्। खेलकुद क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अग्रज खेलप्रेमीहरूको विशेष आतिथ्यतामा सम्पन्न भएको यस प्रतियोगितामा जम्मा ९५ जना धावकहरूले सहभागिता जनाएको कार्यक्रम संयोजक विवेक मैनालीले जानकारी दिए।