म्यानपावर व्यवसायीको आन्दोलन फिर्ता
१ भाद्र काठमाडौं । म्यानपावर व्यवसायीले कार्यालय बन्द गरेर थालेको आन्दोलन फिर्ता लिएका छन् । सरकारसँगको वार्ता सकारात्मक भएको भन्दै आन्दोलन फिर्ता लिइएको हो । वैदेशिक रोजगार संघका सल्लाहकार, पदाधिकारी र सरकारतर्फबाट श्रम मन्त्री र सचिवबीच वार्ता भएको थियो । योसँगै व्यवसायीहरू कामदार विदेश पठाउन सहमत भएका छन् ।
संघले १५ बुँदे माग राखेर आन्दोलन थालेको थियो । सरकारले आज बिहान वार्तामा बोलाएर व्यवसायीका माग ३०-४५ दिनभित्र सम्बोधन गर्ने सहमति जनाएको व्यवसायीले बताएका छन् । संघका अध्यक्ष डिकबहादुर खत्रीले सरकारसँग आज बिहान वार्ता सकारात्मक भएको भन्दै श्रमिकलाई पठाउने सहमति भएको बताए ।
उनले भने,‘हाम्रा १५ बुँदे माग सरकारले सम्बोधन गर्ने सहमति जनाएको छ । ती माग पूरा गर्न निश्चित प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिएको छ । हालै सम्पन्न विभिन्न चरणका छलफलहरुमा सेवा शुल्कको व्यवस्थापन, ऐन संशोधनका प्रक्रियाहरु तथा आवश्यकता अनुसार आन्दोलनका स्वरूपहरुमा परिवर्तन गर्ने विषयमा समेत विस्तृत कुराकानी भएको छ ।’
युवा, श्रम तथा रोजगार मन्त्रालयले संघद्वारा आव्हा गरिएको आन्दोलनका कार्यक्रम फिर्ता भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । संघका माग पूरा गर्न अधिकतम प्रयत्न गर्ने मन्त्रालयले जनाएको छ ।