कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडौं सडकमा सवारीको चाप
२५ भाद्र काठमाडौं । कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौँडा–काठमाडौं सडकमा सवारीको चाप परेको छ । मुख्य बाटोबाट आवागमन हुन नसकेपछि काठमाडौं आउने तथा यहाँबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौँडा–काठमाडौं सडकमा पछिल्लो एक सातादेखि सवारी चाप अत्यधिक बढेको छ ।
चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि सानाठूला गाडीलाई काठमाडौं–हेटौँडा आवतजावत गर्न छुट्टाछुट्टै रुट तोकेको छ । १० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौंतर्फ आउन त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग भइरहेको छ ।
हेटौँडाबाट काठमाडौंतर्फ आउने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै आउजाउ गर्न रुट तोकिएको छ । काठमाडौंबाट हेटौँडातर्फ जाने गाडी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गमा चलेका छन् ।
साँघुरो पहाडी सडकमा एकैपटक बढेको ट्रक, बस तथा अरू सवारीसाधनको चापका कारण यात्रुले लामो समय जाममा बस्नुपर्ने अवस्था छ । यसबाट नियमित आवागमन मात्र होइन, काठमाडौंका निम्ति अत्यावश्यक वस्तु तथा ग्यासलगायत सामग्रीको ढुवानी समेत प्रभावित बनेको छ ।
कृष्णभीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात, ग्यास, खाद्यान्नसहित अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीले यो बाटो प्रयोग गर्दै आएका छन् । हेटौँडा–काठमाडौं सडक यात्रा करिब तीन घण्टाको हो । सवारी चापका कारण अहिले पाँच घण्टासम्म लम्बिएको छ ।