नेपालमा देखिन थाल्यो न्यूनचापीय प्रणालीको प्रभाव,


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ७ २०८३
627
SHARES

७ असोज  काठमाडौं । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा देखिन सुरु भएको छ । मनसुनसहित उक्त प्रणालीको प्रभावका कारण बुधबार (असोज ७) देशका विभिन्न भूभागमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।वाग्मती प्रदेशदेखि पूर्वतिर यसको प्रभाव देखिन थालेको छ । न्यूनचापीय प्रणालीको आंशिक प्रभाव सुरु भएको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए ।

“आंशिक प्रभावचाहिँ देखिन थाल्यो । त्यसमा पनि विशेष गरी वाग्मती प्रदेशबाट पूर्वतिर,” उनले भने । गण्डकीमा यसको खासै प्रभाव परिनसकेको उनले बताए ।अहिलेको वर्षामा मनसुन पनि कारक रहेको उनले उल्लेख गरे । “जुन न्यूनचापीय प्रणाली छ, त्यसको कारणले पनि देखिन्छ,” उनले भने, “मनसुनी वायुको प्रभाव पनि रहेको देखिन्छ ।”

वाग्मती प्रदेशमा आज दिनभरिजसो पानी पर्ने सम्भावना रहेको उनले बताए । तर, पानी निरन्तर नपर्ने उनले स्पष्ट पारे ।“आज दिनैभरिलाई सम्भावना परेको परेकै गर्नेजस्तो देखिँदैन, यद्यपि वर्षाको सम्भावना देखिन्छ,” उनले भने, काठमाडौंमा पनि दिनैभरिजस्तो लगातार नपरे पनि घाम लाग्न सक्ने सम्भावना अलि कम कमै छ ।”

मधेसमा पनि अहिले (बुधबार बिहान १०ः१० बजे) बादल लागिरहेको उनले जानकारी दिए । “विशेष गरी वाग्मतीकेन्द्रित मात्रै वर्षा भइरहेको छ,” उनले भने ।त्यो गहिरो न्यूनचापीय प्रणालीमा विकास भइसकेको उनले बताए । “गहिरो न्यूनचापीय क्षेत्रमा विकास भएको छ,” उनले भने, “जमिनको सतहतिर प्रवेश गर्दै छ । आज बेलुका या भोलिसम्ममा त्यो जमिनको सतहमा प्रवेश गर्छ जस्तो देखिन्छ ।”

वर्षाको गतिविधि बिस्तारै बढ्दै जाने उनले बताए । “भोलि, पर्सि अलिकति बढी हुन्छ जस्तो देखिन्छ,” उनले भने, “आजको भन्दा भोलि बढी, भोलिको भन्दा पर्सि बढीजस्तो देखिन्छ ।”यो अवधिमा बाक्लो हिमपातको पनि सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिए । “हिमपातको बढी नै सम्भावना छ,” उनले भने, “पर्वतारोहणमा जुन याम छ अहिले, उहाँहरूको मध्यनजर गरेर रेड अलर्ट जारी गरिसकेका छौँ ।”