११ः०७ को साइतमा भाइटीका


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०८३
1.4K
SHARES

२५ कार्तिक काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाइएको छ । साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहे पनि आज दिनभर भाइटीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

आज दिनभर टीका लगाउन कुनै बाधा नरहेको समितिले बताएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्नेछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरंगी टीका लगाइदिने चलन छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ । दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।