नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १० २०८३
57
SHARES

९ मंसिर काठमाडौं । नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

बदलिँदो आर्थिक परिवेशअनुसार नागरिक लगानी कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन आवश्यक रहेको उनको भनाइ छ । अब कोषले निजी इक्विटी (प्राइभेट इक्विटी), भेन्चर क्यापिटललगायतका क्षेत्रमा समेत लगानी गनसक्ने गरी कानुनी व्यवस्था अद्यावधिक गर्न खोजिएको उनले जानकारी दिए ।

यस्तो छ मन्त्री वाग्लेको भनाइ :

४८ सालभन्दा पुरानो युगमा हामीले प्राइभेट इक्विटी, भेन्चर क्यापिटलजस्ता विषयमा प्रवेश गरेका थिएनौँ । अब ती क्षेत्रमा पनि लगानी गर्नुपर्ने अवस्था आएको छ । त्यस्तै पूर्वाधार, उत्पादनमूलक क्षेत्र एवं आवास क्षेत्रमा पनि लगानी विस्तार गर्नुपर्नेछ । हाउजिङ सेक्टर पनि ठूलो क्षेत्र हो ।

हामीले निर्वाचनमा होमिँदै गर्दा मध्यम वर्गको विस्तारलाई सबैभन्दा मूल विषय बनाएका थियौँ । मध्यम वर्गको विस्तारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधुनिक सेवा र आवासजस्ता विषयमा पनि ध्यान दिने भनेका थियौँ । त्यस्तै सञ्चालक समिति तथा कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट गर्ने, संस्थागत सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनसम्बन्धी विभिन्न धाराहरूलाई पनि अद्यावधिक गर्ने उद्देश्य हो ।

डिबेन्चर, ऋणपत्र, धितोपत्रलगायत परिभाषा परिमार्जन गरिएको छ । मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र तथा अन्य वित्तीय उपकरणहरूलाई पनि लगानीको परिभाषामा समेटिएको छ । त्यसैले एउटा क्लस्टर दफा २ अन्तर्गत परिभाषा र कार्यक्षेत्रको विस्तारसम्बन्धी छ । अहिले ८ अर्ब रुपैयाँबाट यसलाई १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । सेयर कित्ता ८ करोडबाट १० करोड पुर्‍याउने र चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव छ ।