आधा किलो खैरो हेरोइन, एक थान पेस्तोल र मोटरसाइकल बरामद


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८३
304
SHARES

१३ कार्तिक विराटनगर । मोरङको रतुवामाईमा नगरपालिका लागू औषध कारोबारी बिच झडप भएको छ । नेपाल भारत सीमा क्षेत्रमा हतियारसहित लागूऔषध गिरोह सक्रिय भएपछि प्रहरीसँग झडप भएको हो । सो गिरोहलाई लाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

झडपपछि दुई भारतीयसहित तीन जना कारोबारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् । तस्कर समूहलाई घेरा हाल्ने क्रममा भएको फायरिङमा एक जना प्रहरी जवान समेत घाइते भएका छन् ।

प्रहरीले उनीहरूको साथबाट आधा किलो खैरो हेरोइन, एक थान पेस्तोल र ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ ।

सीमापारिबाट हतियारसहित ठूलो परिमाणमा लागूऔषध भित्रिँदै गरेको विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरोको टोली रतुवामाई पुगेको थियो । टोली पुग्नसाथ लागू औषध कारोबारीको समूहले गोली चलाएको प्रहरीको दाबी छ ।

लागूऔषध कारोबारीले फायरिङ गरेपछि प्रहरीले गोली चलाएर लागू औषध सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेको यो संगठित समूहले पूर्वी सीमा क्षेत्रलाई ट्रान्जिट बनाएर हतियारको आडमा लागूऔषधको अवैध धन्दा चलाउँदै आएको प्रारम्भिक अनुमान छ ।

घाइते प्रहरीको उपचार भइरहेको छ भने पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।