एकैदिन जथाभावी हर्न बजाउने १७१ सवारीसाधनलाई कारबाही


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन १४ २०७५
8.2K
SHARES

१४फाल्गुन काठमाडौं।ट्राफिक प्रहरीले जथाभावीरूपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही गरेको हो।महाशाखाले आइतबारमात्र १७१ सवारीसाधनलाई कारबाही गरेको छ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारबाहीलाई तीव्रता दिएको हो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिए।

‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौं’, उनले भने।
यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो। उक्त घोषणा धेरैमात्रामा लागू भए पनि पूर्णरूपमा भने लागू भएको छैन।

महाशाखाले हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ३० हजार ४६८ सवारीसाधनलाई कारबाही गरिसकेको छ। महाशाखाले ध्वनि प्रदूषण गरेबापत एउटा सवारीसाधनबाट रु ५०० कारबाहीस्वरूप लिँदै आएको छ।